विद्यालयको भिडमा, कक्षा कोठाको हुलमा प्राय सधै पछाडीको बेन्चमा बस्ने दुई साथीहरु थिए। अरु साथीहरु सित भन्दा उनीहरु एक आपसमा बढि नजिक थिए। नजिक त्यो हुन्छ जो सित मन मिल्छ, जो सित आनीबानी मिल्छ, जो सित आफ्ना केहि सिकरेट सेयर गरिएको हुन्छ। उनीहरुको पनि त्यस्तै थियो, आफ्नाहरुको आँखा छलेर उनीहरु भेप, र कहिले काँही हल्का रक्सी पनि खान थालेका थिए। समय बित्दै जादा यस्ता बानीले उनीहरुको शरिरमा कब्जा गर्न थालिसकेको थियो। हँसिमजाग र हल्का हिट वफ द मोमेन्ट बाट शुरु भएको त्यो बानी आज शरिर चलाउने यन्त्र बन्न थालिसकेको थियो। एक पफ नतान्दा सम्म निद«ा नलाग्ने, दिशा नआउने, विद्यालयको शौचालयमा गएर खुसुक्क भेप नतान्दा सम्म क्लासमा बस्न नसक्ने, छटपटाहट, घबराहट हुने, रिस उठिरहने, बेचैनी हुने, टाउको दुख्ने, शरिर लोथ र थकित हुने हुन थालिसकेको थियो। उनीहरुको हिड्ने, बोल्ने, हेर्ने शैलीमा पनि निकै परिवर्तन आइसकेको थियो र यो कुरा परिवारको लागि निकै चिन्ताको विषय बनिसकेको थियो। अभिभावकले चिन्ता अभिव्यक्त कहिले कराएर, कहिले सम्झाएर, कहिले पिटेर, कहिले आफै हारगुहार गर्दै रोएर गर्दा पनि छोरोको आनिबानी र पढाइमा केहि सुधार नदेखिएपछि होस्टल राखेर केहि परिवर्तन आउने आशमा छोरालाई होस्टल राखिदिए। बिहान उठे पछि ऐनामा आफूलाई भन्दा पहिले ओछ्यानको छोरोलाई सुम्सुमाएर दिनको शुरुवात गर्ने अभिभावकको लागि होस्टलमा आफ्नो बच्चा राख्नु सहस कहिल्यै हुदैन तर जीवन जोगाउन आँखा रसाउनै पर्ने भएपछि कसको के लाग्छ र?
जो मान्छे आफ्नो मनबाट सुध्रिन चाहदैन उसलाई अरुले सम्झाएर, तर्साएर केहि नहुदो रहेछ। आफ्नो मिल्ने साथी अनुरागको मदतबाट सुर्यले होस्टलमा पनि लुकिलुकि भेप खादै थियो। सूर्यमा सकारात्मक परिवर्तन केहि नआएपछि, विद्यालयले सुर्यलाई होस्टलमा राख्न नसकिने भनेर फेरि अभिभावककै जिम्मा लगायो। त्यसको भोलि पल्ट बाट उ विद्यालयनै आएन, न त उसको बारेमा कुनै खबरनै आयो। यहाँ सम्मकि अनुरागको सम्पर्कमा पनि सूर्य थिएन। उसका सोसल मिडिया सबै डि एक्टिभेट भएका थिए ।
सूर्य यसरी गायब हुदा अनुरागको जिवनमा हलचल चलिरहेको थियो। आफूले माया गरेको दोस्ती आफ्नो जीवनबाट अचानक हराउदाको पिडा अनुराग बुझ्दै थियो। धेरै समय संगै बिताएको मानिसको बानि लागेको हुन्छ र त्यो मानिस जीवनबाट हराउदा जिवन खाँलीखाँली हुने रहेछ भन्ने बुझेको अनुरागको आँखा अनायासै आफ्नी आमा तिर गयो। उनी पनि खाँली थिइन, न कानमा सुनका कुन्डल थिए,न हातमा बाला। आफू नहाँसेको धेरै दिन भएको त अनुरागलाई थाहा थियो, आमा कहिले हाँसेकी थिइन, उ सोच्न थाल्यो, अनि उसले सम्झियो, एकदिन अनुरागले छिमेकीको बाइक चलाएको देखेर घरमा कुचोले लखेटदै गरेकी आमालाई उसले विद्यालयको हाउस एसेमब्लीमा आफूले गाएको गाीतको भिडियो देखाउदै कुरा अन्तै मोडेको थियो, आमा पनि दंग परेर कुचो फालेर एक चोटी उभिएरै र फेरी एक चोटी कुर्चीमा बसेर त्यो भिडियो हेर्दै मुस्काएकी थिइन। मेरो छोरो त हिरो हो नी खाली हल्लीएर बस्छ र त भन्दै, घर्राबाट पैसा निकालेर आधिकिलो कुखुरा ल्याउन पठाएकी थिइन। अनुराग मासु किनेर फर्केर आउदा पनि आमा त्यहि भिडियो हेर्दै थिइन। उनका आँखा रसाएका थिए तर ओठ मुस्कुराउदै थिए।
अनुरागले पनि एकछिन सूर्यलाई बिर्सेर आमाको हाँसोको आनन्द लियो। त्यो हाँसो कहिले काहि मात्र आउथ्यो र जहिले आउथ्यो कारण अनुरागनै हुन्थ्यो। बा बिदेश पलायन भएर सम्पर्क तोडेको ८ वर्ष भै सकेको थियो। यस संसारमा आमाको म बाहेक कोहि छैन। उनको खुशाीको आधार म हु भने, दुःख पनि मै हु, जसरी सूर्य हराउदा मेरो जीवन अन्धकार भएको छ, मलाई केहि भए आमाको जीवन अन्धकार होइन समाप्त नै हुन्छ। ५ कक्षा पास गरेर, अर्काको घरमा काम गरी गरी आमाले मलाई बोर्डिग स्कूल पढाएकी छिन्, म अब आमालाई सधै खुशी राख्ने छु । परिवर्तन हुन कुनै ठूलो घटना चाहिदैन रहेछ, मनको ढोका खुलेर जीन्दगीलाई हेर्ने र बाच्ने तरिका बारे चिन्तन गरे, क्षणिक मनोरन्जन भन्दा जीवनको उपयोगिताबारे रस पसे जीवन आफै सहि दिशामा लाग्छ। अनुरागको लागि मासुको झोला लिएर घर पस्दा त्यहि कुर्चीमा बसेर घरीघरी त्यहि सामान्य भिडियोलाई असामानय महत्व दिएर तेजस्वी बनेकी आमाको शान्त अनुहारनै परिवर्तनको उर्जा बन्यो ।
समय बित्दै जादा २ दशक वितिसकेछ। एकदिन डा अनुराग माथेमाको क्लिनिकमा एक बिरामी आए । उहि अनुहार उहि कदकाँटी, उहि हेराई, उहि आवाज। ठ्याक्कै सूर्य। जुंगाको रेखी भरखर बसेको, उहि विद्यालयको सूर्य। अनुराग झसंग भयो र सोधिहाल्यो, ओहो, के हो के तिमीले सूर्य बास्तोलालाई चिन्दछौ? केटाले छक्क परेर डाक्टरलाई हेरेर भन्यो, मेरो नाम चन्द« बास्तोला हो , चन्द« अपोजिट अफ सूर्य, सूर्य बास्तोला मेरो बा थिए, वहाँ वितिसक्नु भयो। लंगको क्यान्सरले, आमाले बा जस्तो नहुनु भनेर उल्टो नाम राखेको रे मेरो। लोल। तपाइले मेरो बा लाई चिन्नुहन्थ्योर सर?
म अकमकाए, के भनु, सूर्य मरिसक्यो भन्ने सुनेरै मेरो खुट्टा मूनीको जमिन हल्लिरहेको थियो, म बेहोश हुदै थिए, आफूलाई सम्हालेर भने, एउटै स्कुल थियो, खासै केहि होइन।
“ र त, कहाँ तपाई, डाक्टर बन्ने ट बाट टपर होला मेरो बा ट बाट ट्यापे, सर हजुरआमा भन्नुहुन्छ बा ले म जत्रो हुदाबाट भेप खाएको रे, एक दुई चोटी पकड्दा खेरी यो चुरोट होइन बास्ना आउने हल्स चकलेट जस्तै हो भनेर ढाटेका पनि रैछन, बिस्तारै वहाँलाई रोगले च्याप्यो। हजुरआमा म खोक्दा पनि आत्तिनुहुन्छ, वहाँलाई लाग्छ म पनि भेप खान्छु, मेरो गोजीबाट चुइगम फेला परेपनि हजुरआमा आत्तिनुहुन्छ। वहाँलाई लाग्छ म पनि बा जस्तै हुन्छु। म आज यहाँ हजुरआमाकै लागि आएको हुँ, वहाँलाई भनिदिनुस न पिल्ज, मेरो फोक्सो स्वस्थ छ, हो खाने साथीहरुको संगत त छ, के गरम सर जति भने नी मान्दैनन् तर जून चिजले मलाई अनाथ बनायो, मेरो बा मात्र होइन हाम्रो परिवारको हाँसो खुशी लग्यो मेरो मा को जीन्दगी उजाड बनायो म त्यस्तो चिज खाउला त सर?, हजुरआमा ट्रवाइलेट बाट आए पछि वहाँलाई चिन्ता नगर्ने बनाएर पठाइदिनुस ल ।
मैले सोधे कसम तिमी चुरोट सुरोट खादैनौ त, सर म पेटमा हुदा आमाले बजारको चटपटे पानीपुरी लाफिंड केहि खानुभएन रे, ताकी म निरोगी जन्मु, आमाको त्यागको मैले सम्मान गर्नुपरेन त सर। चुरोट रक्सी खानु आमाको रगत पिए बराबर हो सर ।
यहि सोच त अनुरागको जिवनको टर्निगं प्वाइन्ट थियो। उ दंग पर्यो । तर मा सित भेट्नु थिएन, हिम्मतनै थिएन। तर टार्ने कसरी, अनुरागले मास्क लगायो, चश्मा तल झार्यो।
२० वर्ष पछि सूर्य मेरो आगडि थियो, तन्नेरी बन्दै गरेको सूर्यलाई भेटेको थिए, त्यहि अनुहार दिमागमा र दिमाग भन्दा बढि हृदयमा छापिएको थियो। यस्तो लाग्यो समय फिर्ता बगेछ, म स्कूलमा थिए र सूर्य मेरो अगाडि। जिउदो, जल्दो बल्दो हँसिलो सूर्य, मेरो सूर्य, मेरो जिग्री, साच्चै यस्तो भए म सूर्यलाई कसेर पकडथे, कहिल्यै जान दिने थिइन, एक मुक्का त हान्थे र भन्थे, गधा साथीलाई बिर्सिस, संगै बाच्ने संगै मर्ने, संगसंगै बुढो हुने भन्थिस, एक्ले मरिस। एक चोटी सूर्य फिर्ता आए, भेपको पहिलो सर्को जुन मैलेनै सूर्यलाई तान्न सिकाएको थिए, त्यो भुल सच्चाउने थिए।
परीक्षामा सबै विषयमा फेल भए पछि, सूर्य उदास थियो। टिचरले पनि धोबी चुटेका थिए, बाआमाले पनि टन्नै लेक्चर हानेका थिए, गोजीबाट भेप निकालेर हे केटा के टेन्सन लिन्छस्, उडाइदे सबै टेन्सन भेपको धूँवामा भनेर मैलेनै उसलाई दिएको थिए। के थाहाथियो र मलाई केटाकेटी बेलाको त्यो भूलले त्यो बेला जन्मदै नजन्मेको चन्द«को जीवन पनि उजाड पार्छ भनेर। बा आमाले कति सोचेर सूर्य नाम राखेका थिए होलान, त्यो सूर्यलाई अस्ताउन बाध्य बनाउने म नै थिए।
“ डा. साब, कता हराउनु भयो, मेरो जीवनको कथाले हल्ल्निुभयो कि क्या हो।”
कसरी म कहाँ जचाउन आइ पुग्यौ त छोरा। मुखबाट आफै छोरा निस्कियो, आफ्नो बाउको मुखबाट छोरा शब्द सुन्न नपाउने अभागी उसलाई मैले नै त बनाएको थिए ।
“काउन्टरमा टिकट लिदा, समस्या के भन्नुभयो, मैले फोक्सो जँचाउनु छ भने, किनकी मेरा बा लाई पनि पहिला फोक्सोमै दाग देखिएको थियो रे। त्यो दिदीले ४ नम्बरको कोठामा जाऊ भनेर हामी यता लागेको। किन र हजुरले क्यान्सर छैन भन्न सक्नु हुन्न र? मलाई थाहा छ, म ठिक छु, खाँली हजुरआमाको मन शान्त गर्न आएको हु।
हुन्छ, म हेर्छु। नेपालको एक प्रतिष्ठित डाक्टर, १५ १६ वर्षको केटा अगाडि आँखा जुधाउन नसक्ने अवस्थामा थिए। झन सूर्यको आमा, मेरी अन्टिलाई कसरी सामना गर्ने हो, चिन्तित थिए।
एक जना झुम्रि बुढि कोठा भित्र पस्नुभयो। मैले वहाँलाई चिन्न पनि सक्ने थिइन यदि पृष्टभूमिमा यति कथा नबुनिएको भए। हाम्रो क्लासको सबैभन्दा राम्री मम्मीहरु मध्येमा वहाँ पर्नुहुन्थ्यो। उज्यालो अनुहार, राम्रो कद, ठुला ठुला आँखा, र चिटिक्क परेर विद्यालय आउने वहाँको व्यक्तित्व। हामी सूर्यलाई जिस्काउ थिएम पनि, तेरो आमा यति स्मार्ट, तलाई त बाटोबाट टिपेको हो कि क्या हो। वहाँ सधै मलाई भन्नुहुन्थ्यो “सूर्यले तिमीले भनेको मान्छ,सम्झाइदिनु ल ।”
वहाँलाई देख्नासाथ म जुरुक्क उठे, हात जोडे, मनमनै लाखौलाख करोडौ चोटी माफि मागे र बस्न इशारा गरे। यो बाबुको आमा खोइत भनेर सोधे। अन्टि आत्तिनु भयो। हो न हो, रोग लागेर त आमा खोजेको होला। मैले वहाँलाई शान्त पार्दै भने, हजुरको नाति एकदम ठिक छन्, यति संस्कारी केटालाई कसले हुर्कायो भनेर सोधेको आमा।
लामो सास तानेर, कुर्चीमा बल्ल अलि आरामले बसेर भन्नुभयो, यसको आमा त परदेशमा कमाउन गएकी छिन बरा। छोरालाई रोगले टिप्यो, नत्र बाबु जत्रै हुन्थ्यो आज। उपचार गराउदा क्रृण लाग्यो, बुहारी कमाउन गइन। छोरा जोगाउन सकिन, नाति म भन्दा अघि केहि भए, मेरोलागि लडेको लाई मुड्की हुन्छ, यसको आमालाई मैले के मुख देखाउनू।
न आत्तिनुन आमा, म छदै छु नी। मनमनै सोचे, म थिए र त आज सूर्य छैन । अनि बाबु तिमी कति वर्षका भयौ?
“ए उमेर, अ…. नागरीकता कि साच्चिकैको सर?
सूर्य जस्तै सिधा कुरा गर्ने, निश्चल लाग्यो चन्द«। मैले साच्चिकैको उमेर भन्न लगाए ।
“१६ वर्ष सर।”
ए, क्लास १० सकेर बसेको।
“होइन नी सर। १२ पढिसके। छिटो छिटो पढे छिटो कमाउन थाल्छस, तेरी आमाले सुख पाउछे भनेर मा ले छिटो पढाउनु भयो, र त नागरीकताको उमेरमा हल्का झोल छ सर ।
म हाँसे मात्र। तर मन रोइ रहेको थियो, नमिठो लागिरहेको थियो, एउटा सुर्य नहुदा परिवार कति छरिएको छ, बिचरा चन्द«, खेल्ने उफ्रने उमेरमा कमाउने सोच्दै छ। उसको उमेरमा त हाम्रो कहाँ यति विवेक थियो र ।
छोरालाई राम्रो सित जाँचे। मा लाई सम्झाए, नआत्तिनुस नाति एकदम स्वस्थ छ र विवेकी पनि। उ गलत चिज गर्दैन, हजुरले आफ्नो ख्याल राख्नुहोला। बरु मलाई एउटा मदत गर्नसक्नुहुन्छ, इन पmयाक्ट २ टा।
मा अचम्ममा पर्नुभयो।
मैले थपे। मेरा मा म सित हुनुहुन्न। हजुरलाई देखेर मा को याद आयो, हजुरलाई मा भन्न मन लाग्यो। अनि चन्द« बाठो केटा छ, मलाई मेरो क्लिनिकमा यस्तो होशियार सहयोगी चाहिएको छ, के उसले मलाई क्लिनिकमा काम गरेर मदत गर्न सक्छ? खासै धेरै काम पर्दैन, बिरामीको नाम टिप्ने आदि, उसको पढाइ पनि म हेरमला नि बरु।
“तिमीले मा भन्दा मलाई पनि मेरो कोखको छोराकै याद दिलायौ। खुशीले भन बाबु। अनि डाक्टरको काखमा नाति सुम्दिात मलाई ढुङा खोज्दा देवता मिले जस्तै हुनेछ, डाक्टरले दवाइ दिन्थे, हजुरले त जागिर पो लेखिदिनुभयो त। तपाइको कुरा सुन्छ डाक्टरको, यसलाई सम्झाइ पनि दिनुल । तर उसको आमालाई एक वचन सोध्छु, अनि भोलिनै बाट पठाइदिन्छू, कि के गर्ने चन्द«, तेरो मन के छ? डा छोराले तलाई यति भर गर्नु भा छ, सक्छस काम गर्न?”
“गरिहाल्छु नी, मा, अलिअलि डाक्टरी पनि सिकिहाल्छु, हे हे”
चन्द«ले फुकर्दै भन्यो, मलाई पनि राम्रो लाग्यो।
मा तिर हेर्दै भने, मलाई तिमी भन्नुस हजुरले, हजुरको छोराकै उमेरको भन्नु भएको होइन। २० वर्ष अघि जस्तै आज पनि आफ्नो सन्तानलाई सम्झाउने जिम्मा वहाँले मलाइ लगाउनु भयोको थियो। प्रत्येक चोटी भेप तान्दा, ए सूर्य तेरो आमाले त मलाई, सूर्यलाई सम्झाउनु भन्नु भएको छ भनेर, आमाको भरोसा र चिन्तालाई मैले ठट्टा र भेपको धुँवामा उडाइदिन्थे।
भोलिपल्ट म क्लिनिकमा छिरे, चन्द«ले आउने भए कल गर्छु भनेर डिटेल लगेको थियो तर अहिले सम्म कल आएको छैन, म चिन्तित थिए। एउटी प्रेमीकालाई पर्खदा प्रेमी जति बेचैन हुन्छ म त्यो भन्दा कैयो गुणा धेरै छटपटाइरहेको थिए। आज जस्मै बिरामी जाँच क्यान्सिल गरेको थिए, चन्द«लाई काम सिकाउने बहानामा उ सित समय बिताउनु थियो, घरको अवस्था बुभ्नुथियो, उसको पढाइको चाँजो पाँजो मिलाउनु थियो, उसको भविष्य सुरक्षित गर्नुथियो। तर उ आएन, म पर्खिरहे, पर्खिरहे। भोक पनि लागेन, दिदीलाई खाना नपकाउनु आज बाहिर खान जानुछ भनेको थिए, तर जो सित जाने भनेको उनै आएन। सूर्य जस्तै चन्द«पनि हरायो। म खासै रुदिन थिए तर एकदम रुन मन लाग्यो।
ढोकामा खटखट गरेको आवाज आयो, आशु पुछ्दै थिए हतार हतार, चन्द«ले चियायो। एकचोटी सूर्यले पनि ढिलो गरेर एउदा मुभी इन्टरभलबाट हेरेको थिएम हामीले। यति खेर हो आउने, इन्टरभल भैसक्यो पो भन्ने पुगेछु।
चन्द«ले सारक्याजम भनेर लियो, ठिकै भयो। सर मेरो हैन हजुरकै गल्ती हो, हजुरको क्लिनिकको लोकेसन गुगल म्यापमा हल्का स्क्याम भएछ, अनि म १ घण्टा घुमेको घुमेकै भएनि।
कल गर्नु पथ्र्यो नी त।
सरप्राइज दिएको नी सर। लाइफ इज फूल अफ सरप्राइजेज सरअअअ” यो त सूर्यको लाइन थियो चन्द«को मुखबाट।
सर, सर हजुरको फोन बज्दै छ, म फेरि कता हराएको देखेर चन्द«ले ब्युझायो। मा को कल रहेछ। तलब जे जति दिए पनि चन्द«को हातमा नहाल्नु, पैसा खेलाउने बानी परेर मेरो छोराको ज्यान गयो। खाजा खान दिएको पैसाले उसले चुरोट खायो, पैसा बोके पछि खराब केटाहरु प्नि पछि लाग्ने रैछन बाबु।
सायद त्यो बेला वहाँले मलाईनै सम्झिनु भएको थियो, मन एकदम भारी भयो। यस्तो लाग्यो, म जमिनमा थाकेर गलेर हारेर लडेको थिए र मेरो छातिमाथि कसैले इट्टा माथि इट्टा राख्दै थियो, म जमिन भित्रै हराउदै थिए ।
त्यो दिन चन्द«लाई काम बताउने भनेर धेरै समय उ सित बिताए। घरको आर्थिक अवस्था कमजोर रहेछ, इनार तिरको भित्ता रसाउन थालेर बनाउन पर्ने भएको रहेछ, भाउजुको कमाइ र मा ले पकाउने नास्ताले जसोतसो गुजरबसर हुदै रहेछ, चन्द«को सपना काठ्माडौं युनिभरसिटीमा पढेर टप गरेर मास्र्टस गर्न विदेश जाने रहेछ तर स्कलरसिपका लागि निकै मिहिनेत गर्नुपर्ने रहेछ। अनि चन्द«ले मा लाई नभनी, क्लास ९ र १० लाई टिउसन दिदै पनि रहेछ, ताकी रसाएको भित्ता बनाएर मात्र उ विदेश जाओस, भुइचालो आएर भित्ता भत्काए मा पर्लिन र मर्लिन भन्ने उसको भयानक डर रहेछ।
दिन बित्दै जादा चन्द« र म धेरै नजिक भएम। उसलाई देख्दा जति आनन्द आउथ्यो त्यतिनै पश्चाताप पनि हुन्थ्यो। उसको धेरै बानी सूर्य सित मिल्ने रहिछ त्यसैले पनि होला घरका मान्छे आत्तिएछन्। उसलाई पनि चिकन चिल्ली मनपर्दो रहेछ तर सूर्य जस्तै त्यसको क्यापसिकम चाँहि केलाइ केलाइ फाल्दो रहेछ। सूर्य जस्तै उ पनि फुटबल होइन स्वीमिंग खेल्न रुचाउदो रहेछ।
चन्द«लाई भेटे पछि मलाई झन अनुभयो, सूर्य मेरो आत्माको कति नजिक रहेछ। उसका हरेक बानी आजपनि मलाई राम्रो सित याद छ। सूर्य, मेरो साथी, मेरो जिग्री कहाँ छौ यार तिमी, अति औडा भयो, सहनै गारो भयो, स्वयम्बुको डाँडामा गएर जोरले चिच्याए, सूर्य, मेरो आवाजको इको आयो, सूर्यको आवाज आएन, वरीपरीका मान्छेले अचम्म मानेर हेरे, तर हेर्नलाई मेरो यार थिएन।
थच्च बसे र उसकै कुरा याद गर्न थाले। भन्थ्यो, हेर केटा, यो फस्ट बेन्चर टपरेहरुको काम छैन, यिनीहरुको लाइफ लास्टै बोरिंग छ, पढेर आनन्द लिने साइकोहरु यिनीहरु, जे गर्ने हो हामले गर्ने हो, जिन्दगीको मजा लिनुपर्छ केटा र यो दोस्ती बुढेसकाल सम्म रहनुपर्छ।
कसम यार, म तेरो साथ कहिल्यै छोड्ने छैन र बुढेसकालमा पनि तेरो आमाले मलाई सूर्यलाई सम्झाइदिनु भनिरहने हुनुभयो हैन त, मैले जोक मारेको थिए।
सुर्य हाँसेको थियो तर कडकेर भनेको थियो नो मदर जोक ल। उसको बाहिरी प्रस्तुती जस्तो भए पनि उसले आमाले निकै माया गथ्र्यो। सायद उसले आमालाई कहिल्यै भनेन तर उसले धेरै माया गथ्र्यो, सरस्वती पूजामा स्कूलको कार्यक्रममा भगवानलाई ढोक्दै भनेको थियो, मैले त पढे लेखेर आमालाई खुशी पार्ने वाला छैन, मेरो भागको खुशी पनि तिमीनै दिनु आमालाई, हे भगवान।
त्यो दिन मैले सूर्यलाई अन्तिम चोटी हाँसेको देखेको थिए। वर्षौ पछि फुलेका कपाल र मोटो चश्मा लिएर म रेस्टुरान्टमा चिकन चिल्ली खादै दिए, हाम्रो बुढेसकालको सपना जस्तै, चन्द«ले सूर्यले जस्तै प्यासबाट क्यापसिकप छुटउदै थियो। चन्द«को आनीबानीमा सूर्य घरीघरी झल्कन्थ्यो, म उसलाई एकदम मिस गर्दैथिए, एक चोटी फिर्ता आइदेउ यार, म आफ्नो फोक्सो दिएर पनि तिमीलाई जोगाउछु पिल्ज। यो छटपटाहाटमा मा लाई पनि सम्झन्थे, जसलाई वहाँले भगवान ठानेर नाति सुम्पिनु भएको छ, वहाँलाई थाहभए म त्यहि राक्षसहु जसले वहाँको छोरालाई चुरोटको लत लगायो, वहाँले के गर्नु हुन्थ्यो होला।
चन्द«दंग पर्दै क्लिनिक छिर्यो, हातमा मिठाइ पनि थियो। अंकल आज काम थालेको एक महिना भै सके छ, हजूरमा को खातामा हजुरले तलब हालिदिनुभएको रहेछ, मा लाई मैले भनिदिए, अब नेपाल आउ, छोरो जागिरे छ त ।
स्यावास चन्द«, प्रगती गर्दै जानु। अनि कतबाट किन्यौ त मिठाइ
किनेको होइन सर, हजुरमाले घरमै बनाउनुभएको। आज विशेष हजुरकै लागि रे, खानुस न सर, एउटा सेल्फी गरम त, मा लाई पनि पठाम न।
मैले खाए। त्यो स्वाद मेरो लागि नयाँ थिएन। सूर्यको जन्मदिनमा हामी साथीहरु सधै यहि मिठाइ हारालुछ गरेर खान्थेम। हुन त म बेलुका उसको घर गएर पनि फेरी खान्थे तर स्कुलमा लुछाचुडी गरेर खादाको मजानै बेग्लै हुने ।
सूर्यको आमाको यो माया र सम्मानले मलाई झनझन आत्मग्लानी गराउदै थियो। वहाँ मलाई भगवानको दर्जा दिदै हुनुहुन्थ्यो तर वास्तवमा म दानव थिए। नजानेरै, नबुझेरै र भविष्य नसोचेरै गरेको भएपनि सूर्यको मृत्युको जिम्मेवार म थिए । मैले जानीजानी गरेको होइन यो। तर म के गरु, जे भै सक्यो त्यो बदल्न पनि त सक्दिन, समयलाई कसरी उल्टो बगाउ म?एकदिन चन्द«ले सबै कुरा थाहा पाए उ मसित रिसाउने छ, म बाट टाढा जानेछ, मलाई चन्द« एकदम प्यारो एकदम आफ्नो लाग्न थालिसकेको थिए, म उसित टाढा जान सक्दिन थिए। उसलाई सबैकुरा बरु आफै बताइदिन्छु भन्ने सोच्दै थिए, प्रसंग पनि त्यस्तै बन्यो। चन्द«ले मलाई घरमा बोलायो।
“अंकल, भोलि म आउन भ्याउदिन, बा को श्राद्ध छ, हजुरमा ले हजुरलाई पनि डाक्नु भएको छ, ढिलो भएनी आउन है, बरु म लिन आउछु, घर देख्नुभएको छैन।”
त्यहि पुरानो बालुवाटारको होइन?
“हुन त हो, कसरी थाहा पाउनुभयो?”
अ…. म अकमकाए। उसैले भन्यो, बिरामी धेरै छन् आज, बोलाइ हालम है।
त्यो घर मैलै कसरी बिर्सिन सक्छु र। त्यहाँ सुतेको छु, खाएको छु, रोएको छु, सुर्यसित बसेर हाँसेको, दिक्क मानेका पल बाटेको, चाहिने नचाहिने सिल्ली गफ गरेको र जीन्दगीका ठूला ठुला फिलोसोफी झाडेको कोठा छ त्यहाँ। चुरोटको ठुटा र भेप लुकाउने स्पेशल खोपी पनि बनाएका थिएम हामीले। त्यो घरको इट्टा इट्टा थाहा छ मलाई, आँखा चिम्लेर पनि पुग्न सक्ने मेरो सेफ जोन थियो त्यो, जति समय आफ्नो घरमा बिते वाल्यकालका, त्यस्तै समय सूर्यको कोठामा वितेको छ, आमा कामबाट बेलुका फर्कने हुदा म अबेर सम्म सूर्यकहाँर्नै हुन्थे, मा ले त्यो बेला पनि भन्नुहुन्थ्यो, सूर्य अल्ली सन्की छ, सम्झाइदेउ न बाबु।
आज जसरी पनि चन्द«लाई भन्छु भन्ने सोचेको थिए, आज भन्न उचित लागेन। भोलिको दिन के पो गर्ने हो, मलाई थाह थिएन ।सायद मेरो अध्यारो अनुहार चन्द«ले पढ्यो र एक गिलास पानी दिदै भन्यो, अनुराग अंकल म हजुरलाई राम्ररी चिन्दछु। डा. माथेमा भनेर चिनिने म, धेरै पछि अनुराग नाम सुन्दा अचम्ममा थिए। मलाई एकदम डर लाग्यो। थच्च बसे र चन्द«लाई हेरीरहे।
“ म ११ वर्षको हुदा बा बितेका हुन। कसैले मेरो बा चिन्दैन, हजुरले चिन्नुभयो। मैले साउदीमा मा लाई सुनाउदा तपाई अनुराग हुनुपर्छ र तपाईको लागि बा ले एउटा चिठठी छोड्नुभएको छ भन्नुभयो। मैले हजुरको बारेमा नेटमा खोजेर कनर्फम पनि गरिसकेको थिए। यत्रो दिन भनिन किनकी हाम्रो दोस्ती अनकमफरटेबल नहोस भनेर। आज भन्न पर्ने थियो ताकी हजुरलाई भोलि घर आउन सजिलो होस।
म भन्दा कति कान्छो छ यो केटा, उसको उमेरमा म के सोच्थे, उ कसरी सोच्दै छ, म के खान्थे, उ के गर्दैछ।
मैले केहि भन्नै सकिन, चन्द«लाई ताने, अंगालो मारे र रोए, सरी छोरा भन्दै रोए, धेरै बेर रोए, वर्षौ देखिको ग्लानी आज आशु बनेर बग्यो, चन्द« मलाई नै सम्हाल्दै थियो अझै, म बच्चा जस्तो, आशु र र्याल मुखभरी लगाएर रोइरहे, रोइरहे। तिमीले बाबु गुमाएका छौ, मैले दाजु जस्तो साथी गुमाएको छु, म तिम्रो अंकलनै हो है प्लिज भन्दै रोइरहे।
दुनियाभरीको समस्या आए पनि, बिरामीलाई जाच्दा म सारा टेन्सन भुल्ने गर्थे, मेरो काम नै मेरो इकिगाई भएको थियो, तर आज बिरामी जाँच्न मन लागेन। हस्पिटलबाट बिदा लिए, क्लिनिकको सबै अप्वाइन्टमेन्ट अर्को दिनलार्इृ सारे। कहाँ जाने थाहा थिएन, बालुवाटार बिहानै जान पनि उचित लागेन।
५ वर्ष पहिला आजै को दिन सूर्यले यस धर्तीबाट विदा लिएको थियो। त्यो क्षण कस्तो रह्यो होला हरे। मा ले कसरी आफुलाई सम्हाल्नु भयो होला, सूर्यकी श्रीमती मेरी भाउजु कति रोइन होला, अनि कलिलो ११ वर्षको चन्द«ले कसरी आफ्नो बा लाई दागबत्ती दिएर मुखमा आगो चढायो होला। सोचेरै म पलपल मरीरहे, त्यो क्षण बाँचेकालाई झन कस्तो भयो होला।
म के एल टावर पुगे, त्यहि सूर्य र मैले बाहुबली २ हेर्ने योजना बनाएका थियौ तर सूर्य ढिलो आएर इन्टरभलबाट मात्र हेरेका थियौ। मैले कुनै एक सिनेमाको दुइटा टिकट किने, हलमा छिरे, सूर्यको टिकट समातेर सिनेमा हेर्न शुरु गरे, सिनेमाको एक शब्द एक सिन दिमागमा छिरिरहेको थिएन, सूर्यसंगै हुनु र उसको लागि खरिद गरिएको टिकट साथमा हुनु कहाँ एउटै कुरा हुन्थ्योर। सिनेमामा पनि मन गएन, इन्टरभल अगाडिनै उठेर बाहिर निस्के, त्यहि बाहिरको ट्याटु पारलरमा ध्यान गयो। त्यो दिन सूर्यले ट्याटु खोप्न जिदी गरेको थियो, म खासै ट्याटुको बिक फ्यान नभएकोले,हे केटा चित्र त कागजमा बनाउने हो, जिउमा हो र भनेको, मुख छाडि त हाल्यो, हाम्रो मुखबाट फोहोर शब्द यसरी निस्कन्थ्यो जसरी डायरीयामा पट्टी, यस्तो हुन्थ्यो कि मुख छाड्दा मन हल्का हुन्छ, दिमाग शान्त हुन्छ। उ ट्याटु बनाउन कराइ नै रहेको थियो, केटी मन नपर्ने उसलाई, मैले टार्न लाई नै भनिदिए, तैले केटी पटाको दिन ट्याटु बनामला। टुउउउउट उसले फेरी मुख छाड्यो।
सूर्यले बिहे पनि गर्यो, मैले वचन पूरा गर्न पर्यो, पार्लर भित्र छिरे र पाखुरामा सूर्यको चित्र खोपे। मेरो सूर्य पनि यसरी नै चम्किरहेको हुन्थ्यो आज यदि, यदि घरले अलिकति सम्हालिदिएको भए, स्कुलले उसलाई बुझिदिएको भए, सुर्य जिउदै हुन्थ्यो यदि, यदि म जस्तो नालायक उसको साथी नभइदिएको भए। उफ अब म यहि ग्लानी लिएरै बाँच्नुपर्छ, जिन्दगी भरी। बौद्यको चाइनिजमा गएर बसे जहाँ सूर्य र म आउने गर्थेम, त्यहि चिकन चिल्ली अडर गरे र कल्पना गरे कि सुर्य म सितै छ, चिकन, प्याज, टमाटर उसको भाग राखिदिए र क्यापसिकम खाएर निस्किए, बसन्तपूरको दरबार स्कवाएर गए जहाँ सूर्य र म कोचिगं क्लास बंक गरेर पुगेका थिएम, भक्तपूरको यमरी पनि किने खान मन लागेन, चन्द«को लागि प्याक गरे। सुर्य र म घुमेको काठमार्डौको धेरै ठाँउ मैले भ्याए आज, घडीमा पाउने चार बच्दै थियो, अब जान बाँकी एउटा ठाँउ मात्र थियो, बालुवाटरको सूर्यको घर, बालुवाटरको हाम्रो त्यो कोठा अनि त्यहाँ सूर्यले मेरो लागि छोडेको अन्तिम पत्र। जहिले जहिले मन बेचैन हुन्थ्यो हामी त्यहि कोठामा समय विताउथियम, आज पनि मनमा आगो लागेको छ, जानु पनि त्यहि कोठा नै छ तर त्यहाँ मेरो साथी छैन, उसको श्राद गर्दै गरेको उसको छोरा छ।
स्नेहको अप्रतिम उदहारण थियो चन्द«, उसलाई थाह थियो यदि उसको बा ले मलाई नभेटेको भए वा मैले भनेको नमानेर भेप नखाएको भए, आज उसले बा भन्दा हजुर भन्ने कोहि यस संसारमा जिवन्त हुन्थ्यो। तर चन्द«ले मलाई माफ गर्यो। बलुवाटार घर पुग्ने लाग्दा, गाडि पार्क गरेर झरे पछि मेरा खुट्टा काप्न थाले। चन्द«लाई फोन गरे तर उसले उठाएन। बेचैनी बढ्दै थियो, उसको कलब्याक आयो।
“अंकल, कल गर्नु भएको रहेछ, आइपुग्नु भएको हो?”
के मा लाई मेरो बारेमा थाह छ? चिन्नुभयो मलाई?
“मा पनि भन्ने अनि चिन्नु भयो पनि भन्ने, मा हजुरको बाटो हेरेर बस्नु भएको छ, हजुरलाई टीका नलगाई अन्न खान्न भनेर बस्नु भएको छ, छिट्टै आउनुन। “
घरको ढोका खोल्ने बित्तिकै मा लाई देखे। लागेको थियो, मा को काखामा घोप्टो परेर रुन्छु र माफी माग्छु। तर मलाई देख्ने वित्तिकै मा का आँखाबाट बररररर आशुका धारा बगे। मैले आफूलाई सम्हाल्ने पर्ने भयो।
“तिमी र सूर्य यसै गरी एक साथ यो ढोकाबाट आउने गर्थ्यो, आज तिमीलाई एक्लै आउदै गरेको देखेर मन भक्कानियो बाबु, चित्त नदुखाउल।
मा, के भन्नुभएको। मलाई त लागेको थियो हजुरले मलाई कहिल्ये माफ गर्नुहुने छैन, मेरै संगतले सूर्य कुलतमा परेको हो।
“तिमी जति नपढे पनि दुनिया बुझेको छु। अल्लारे उमेरमा तिमीहरु मुर्ख भयो, आफ्नै ज्यानको दुश्मन बन्यौ, आफ्नै परिवारलाई दुश्मन ठान्यौ, मलाई त चिन्ता थियो, सुर्य जस्तै तिमीलाई पनि कहि कतै केहि नभएको होस्। तिमीलाई स्वस्थ र सफल देखेर म खुशी छु, भगवानले गरुन तिमी सधै निरोगी भइ १०० वर्ष बाँच”
ह्ुन पनि त्यो बेला परिवारले भनेका सबै कुरा गलत लाग्थे। यस्तो लाग्थ्यो की हामी कति खेर गल्ती गरम र उनीहरु कराउन भनेर पर्खेर बसेका छन्। स्कुले दिएका अर्ति पनि झर्को लाग्थ्यो, कति क्वारक्वार गरेका होलान जस्तो लाग्थ्यो , अनि भेपहरुको बारेमा हामीलाई बताएका कुरा सबै बनावटी लाग्थे, हामीलाई तर्साउन उनीहरुले बुनेको झुठ। हाम्रो आफ्नै तर्क थियो, चुरोट नखाने मरेका छैनन र, चुरोट खाने ९० वर्ष पनि बाँचेका छैनन् र, हामीलाई जे पाएक परथ्यो त्यसकै तर्क बटुलेका थिएम, स्टाट सित मतलब दिएन, जिन्दगीको सवाल छ, किन रिक्स लिने भन्ने सिदान्त बकमफुसे लाग्थ्यो। प्रिन्सिपलको अफिसमा लगे हामी सोझो अनुहार पारेर, प्रमिस समिस गरिहाल्थ्यो ताकी छिटो छिटो त्यो कोठाबाट उम्कन मिलोस्। अचम्म लाग्छ अहिले सम्झदा, कहिल्यै सोचेकै थिएनौ, पढाइमा आलु, बानीव्यहोरमा खत्तम हामी जस्ताको अनुपस्थितिले पनि कति धेरै जीवन अस्तव्यस्त हुनेरहेछ। दिन त्यो पनि थिए, दिन यो पनि छ। ऋनाथ छोरा, बुढि आमा र घर धान्न विदेश गएकी भाउजुको घरमा म मेरो जिग्रीको श्रादको प्रसाद लिदै थिए।
मा चिन्ता नर्गनु, म आए अब, म सबै ठिक गर्छु, म सूर्य बनेर आएको छ, हजुरका सबै दुख हटाउछु अब म। मलाई यो भन्न मन थियो तर भन्नै सकिन। शब्द घाँटी सम्म आएर अड्किए। दिनु त के सक्थे र दुइटा कुरा अरु मागे।
“मा, हजुरले मलाई माफ गर्नु भयो, मैले जिवन पाए। आज सुर्यको श्रादको दिन केहि माग्छु, नाइ नभन्नु ल।
मा ले अलि अचम्म मानेर मलाई हेर्नुभयो। मैले आफ्नो कुरा राखे।
चन्द«को आमा, मेरी भाउजु रात दिन एक गरेर परदेशमा कटिरहनु भएको छ, वहाँको देवर लायक भइसकेको छ, वहाँलाई फिर्ता बोलाउनुस, सूर्यको इच्क्षा पनि यहि हुने थियो। फेसबुक वा इन्सटामा हालेको जस्तो विदेशको जिवन रहरलाग्दो हुदैन, बिन्ती वहाँलाई घर बोलाउनुस, अनि बाँकी मेरो जिम्मेवारीहरु म निभाउछु अब। सूर्यको जन्मदिनको मिठाइ हजुरको हातको खाएर म हुर्केको हुँ, आज उसको श्रादको प्रसाद खान जुरेको छ, नियतीले मलाई त्यसै यता फेरी डोराएको होइननी। हे मैले एउटा गल्ती चाँही अर्को पनि गरे, धेरै पहिला आउनुपर्थ्यो तर चित्त सानो रहेछ मेरो, सूर्यले एक वचन नभनी मलाई बिर्सियो भनेर म उसले बोलाउने बाटो पर्खिरहे।
मा ले भुइ तिर हेरिमात्र रहनु भयो र केहि बेर पछि दोस्रो कुरा चाँहि के भन्नु भयो?
सुर्यले मेरो लागि एउटा चिठ्ठी छोडेको छ रे।
म उभिनु भयो, बिचार गरेर वहाँलाई हेरे, घुँडा दुख्न थालेका रैछन। वहाँले हातको इशाराले मलाई रुक्न भन्नु भयो र चिठ्ठी लिएर आउनु भयो।
यत्रो वर्ष पछि सूर्यको सन्देश, उसका शब्द, उसका अक्षर मेरो अगाडि थियो। सूर्य, मेरो सूर्य, मेरो प्यारो सूर्य, मेरो साथी सूर्य,लाखै चोटी बोलाएपनि उसले सुन्नेवाला थिएन। पत्र खोले, यो पत्रमा मेरो प्राणनै मागेको भए पनि म तया।र थिए।
मा को हातबाट खाम लिए। खमको माथिल्ले भाग च्यातिएको थिए। पत्र कसैले पढिसकेको हुनुपर्छ। खाममा सूर्यको अक्षर थियो, प्रिय अनुलाई मेरो प्रेमपत्र।
अक्षर राम्रा थिएनन्, पहिला जस्तौ तर मेरो लागि एकदम प्यारा थिए। मैले मा तिर हेरे। मा ले मनको कुरा बुझ्नुभयो, मा हो नी त।
“हमीलाई थाहा थिएन, तिमी कहाँ छौ, सन्ध्याले यो चिठी पढ्म आमा, अन्तिम इच्क्षा केहि लेखेको भए, हामीले नै पूरा गर्नु पर्छ भनिन् अनि सूर्यको बा, सन्ध्या र म बसेर यो चिठी खोलेका हम्। सूर्यले लेखेको छैन तर उसले भन्ने गर्थ्यो एकदिन जब चन्द«्े र अनुको भेट हुन्छ, चन्द«ेले पनि अनुलाई मैले जस्तै माया गरोस। अनि ठूलो भए पछि चन्द«ले पनि यो चिठी पढेको छ।
प्रिय अनुलाई मेरो प्रेम पत्र, यी शब्द, यो अक्षरले फेरी पुरानो दिनमा लगित हाल्यो। सुर्यमात्रै त्यस्तो दोस्त थियो जसले अनु भन्दा म रिसाउदिन थिए। उसले भन्थ्यो यार त पनि जि फ नबना, मलाई पनि केटीको नर्खा खासै टोलरेट हुदैन। हामी दुई नै एक अर्काको लागि काफि छम्।
मैले ठट्टा गर्दै भनेको थिए, के हो साथी, केहि लोचा छ कि क्या हो?
टुउउउउउट, अनि एक मुक्का हान्यो, तलाई डाँका केटीहरु मर्न खोज्छन्, सूर्यको एक झलकको लागि, लाइन लगाउन सक्छु म। भो त चाँहिदैन, भोलिबाट त्यहि डिम्पलनै मेरी जिग्री भइ ल।”
हाम्रो क्लासमा एउटी केटी थिई, नाम ठ्रयाक्कै याद आएन अहिले, तर जब हाँस्थी दुइटै गालामा डिम्पल बस्थ्यो। अनि हामीले नाम नै डिम्पल राखेका थिएम। डिम्पलले सूर्यलाई सारै मन पराउथि, भन्थि, “सुर्य प्लिज तिमी भेप सेप नगरल, लंगस डयामेज हुन्छ क्या, अनि तिमी छिट्टै मर्छौ, मेरो बाबा डाक्टर हो क्या, मलाई सबै थाहा छ।”
सूर्य हावा, भन्थ्यौ, “ ए डिम्पल, तिम्रो त्यो इरेजरले दाग मेटाइदिनुनी त। “ रयाग नगर न यार। न तिमी मेरो बा न आमा, ताइ न तुइ , लेक्चर नदेउल। बिचरी रुन मात्र सकेकी थिइन। कास, सूर्यले मेरो सट्टा डिम्पललाई रोजेको भए, उसको खराब बानी रहदैन थियो होला र सूर्य आज यहि हुन्थ्यो।
सूर्य केटीहरु सित बिना मतलब पनि चिडिन्थ्यो। एउटीलाई ८ क्लास पढ्दा लास्टै मनपराउथियो, यति कनफिडेन्ट भएर, प्रपोज पनि हान्यो तर त्यसले तँ जस्तो ट्यापेलाई बि फ बनाउछुर भनेर सबैको अगाडि भनिदिइ। त्यो दिन साथीले धेरै चित्त दुखाएको थियो। केटीलाई त केहि गरेन तर स्कुलको ड्रमभने भाँचियो। हामी भेप खान्थेम तर ट्यापे, ट्रयापे त होइन नी भनेर बिचारा ले गनेरै कम्तीमा ५१ चोटी त मलाई नै सुनायो।
धेरै बेर खाम समातेको देखेर होला, मा ले माथि कोठामा गएर पढ भन्नु भयो।
हौइन मा, त्यो कोठामा म एक्लै जान सक्दिन, सूर्य र मेरो कम्बाइन्ड याद ज त्यहाँ, एक्लै कसरी जाऊ। बुइगलमा जान्छु, जादै गर्दा इनार छेउको रसाएका्े भित्ता पनि हेर्दै गरे, लुकेर टिउसन पढाएर आफू विदेश जानु अघि बलियो भित्ता बनाउने योजना बनाएको छ चन्द«ले। साच्चै भित्ता कमजोर भइसकेको रहेछ, त्यो मैले तुरुन्तै बनाइहाल्नु पर्छ।
बुइगलको पर्खालमा त्यसरी नै अढेसलगाएर भुइमा थच्च बसे जसरी हामी दुई लुकेर भेप खान बस्थेम। पत्र खोल्दा मुटुको धडकन तेज भयो। सुर्यको अनुहार हेरेरै त्यसको मनको कुरा थाहापाउथे तर आज पत्रमा के लेखेको होला, केहि आइडियानै थिएन।
“प्रिय अनु,
के छ यार, आइ मिस यु दोस्त।
उफ गाहारो भयो भगवान मलाई, छातिमा पत्र टाँसे, मन थामेर फेरी पढ्ने कोशिस गरे।
त्यो दिन स्कुलबाट मलाई मा ले घर लगे देखि आजको दिन सम्म तलाई पल पल मिस गरीरहेको छु। तेरो याद खुब आइरहन्छ। आज अस्पतालको बेडमा मृत्युलाई पर्खदा लेखिहालु जस्तो लाग्यो, के थाह भोलिको दिन अचेत हुदा मनमा कुरा रहला तर लेख्न पनि नसकmुला। धन्न सबिना मिसको डाँट सुन्दा सुन्दा लेख्ने सम्मको भइएछ नत्र मनको कुरा मनमा रहन्थे।
तैले यो पत्र पाउदा म कुन अवस्थामा हुन्छु थाहा छैन, त पनि टुउउउउउट जिउदै छस कि मरिसकिस के था, उहि त हो हामी।
डिम्पलको कुरा पनि याद आउछ यार। त्यस्तो कुनै इरेजर भए मेरो फोक्सोको खराबी मेटिने थियो, जिन्दगीका गल्तीहरु मेटिन्थे र सफा पाना बाट जीवन फेरी शुरु गर्थे। जब जीवन थियो,समय थियो, केहि वास्ता भएन, बाउआमाको ज्ञान कचकच लाग्थ्यो, टिचरको कुरा सुन्नै मनलाग्दैन थियो, सबैसित भागी भागी हिडियो, आजै तिनैसित नजिक बसी समय बिताउन मन छ तर समय नै त छैन म सित। तेरो छोरा मेरो छोरा हामी संगै स्वीमिंग गर्ने भन्थेम, मेरो छोरा सानै छ, टुहुरो हुने भो यार अनु, बा कसलाई भन्छ त्यसले हत्तेरीका यार। सन्ध्या बिचरीले के गर्ली, कसरी हुर्काउली, मेरा त छोरा म जस्तै भए कसरी सम्हाने होली, अनि बा, मा, कसको मुख हेर्न बाच्लान, यार, मलाई मर्न रत्ति भर पनि मन छैन। बाँच्न मन छ। अलिकति अझै, डाक्टरले अब सम्भव छैन भन्ने कुरा भनिसके। मेरो स्टोरीको दि एण्ड नजिक छ यार, त्यसैले पनि तेरो याद झन झन आइरहेछ, सपनामा पनि तलाई देखे, त र म शिवपूरीको डाँडामा हाइकिंग गर्दै थिएम। सोच न यो फोक्सो लिएर एक तल्ला भरयाङ चढे त कति, हाइकिंग, तेरो बाजेले गर्ने रे।
त्यो दिन स्कूल छुटाएर माबाले धोबी चुटे, दुखिरहेको थियो तर देखाइन, केहि फरक नपरेको जस्तो मलाई बाल भनेर थापिरहे चुटाइ। जब बुढाबुढी थाके, म साइकल लिएर सन्किदै भोगेटे चौर पुगे। खोइ कुन गु्रपका केटाहरुको झडप चलिरहेको रहेछ, चार जना जति मिलेर एउटालाई धुलो बनाउदैथिए, मलाई नि रिस पोख्नु थियो, मैले नि गनेर सात मुक्क २ लात हनिदिए, के क्रण खाएको रैछ त्यसले मेरो, चिन्नु न जान्नु पायो केटोले दनक। बिचरा धन्न मरेन, अहिले त्यहि भोटेचौरको वडा अध्यक्ष भएको छ अरे।
पिटेर रिस त पोखे तर पुलिसले समातिहाल्यो, आउदा साइकलमा जादा गाडिमा तेरो दाइले प्रगती गर्यो बुझिस। थानामा बामा आए, काण्ड पुगि गयो, स्कुलबाट घर, घरबाट गुँडगाउ मामा कँहा पुराय।
र त मैले कति चोटी बालुवाटार घरको चक्कर काँटे, सधै ताला हुन्थ्यो, अड्कलमा हावा गफ कन्फिडेन्सका साथ दिने देश हाम्रो सबै इन्डिया सरे नफर्कने गरी भनि जोडिएको घरको पसले बा ले भने। मैले पनि पत्याए।
सूर्यले लेखेको थियो, बा, मा, टिचर, सबै दुश्मन लाग्थे मलाई, र मलाई विश्वास थियो उनीहरु पनि मलाई रुचाउदैन थिए र त मलाई टाढा पुराएको थिए आफूबाट। उनीहरु म खुशी भएको देख्नै चाहदैन थिए, त्यसैले त मेरो अनुबाट पनि मलाई टाढा बनाए, मेरो मोबाइल खोसिदिए। म जस्तो भए पनि मनमा मेरो माया थियो सबैको लागि, बा, मा लाई त कसम धेरै माया गर्थे, उनीहरुको लागि असल छोरा बन्ने कोशिश पनि गर्दै थिए तर उनीहरुले मलाई आफूबाट टाढा पुराए भन्ने झोकमा उनीहरुलाई नै चिढाउन म झन धेरै चुरोट पनि खान थाले। मैल झन धेरै चुरोट र गाँजा पनि खान थाले। उनीहरु सितको रिसले मलाई नै मार्यो, एकदिन सिजर आयो र पूर्नस्थापनामा आँखा खोले। त्यँही मेरो सन्ध्यासित भेट भयो। तैले फेरी सन्ध्यापनि गजेडी सोचिस होला, उ त्यहाँ आफ्नो बाबाको लागि पुगेकी थिई, र कस्सेर कसैसित बाझ्दै थिई। कसले उसको बा लाई ट्यापे भनेको रहेछ, कोहि आफन्तनै होला।
“तपाइले मेरो बा लाई न पालिरहनु भा छ, न स्याहार्नुनै हुन्छ, किन यहाँ आउनुभयो त्यो पनि मलाई राम्रो सित थाहा छ, मेरो बा लाई नशाको कुलतमा फसाएर सम्पत्ति सबै आफै हत्याउने तपाई, अनि उल्टै मेरो बा लाई ट्यापे रे। मेहन हो मेरो बा को नाम मोहन बैद्य, सक्नुहुन्छ भने मोहन दाइ भन्नुस नत्र खुरुकन आफ्नो बाटो तताउनुस।”
ट्यापे शब्दसितको सन्ध्याको यो रियाक्सनले मलाई उनी प्रति आकर्षित गरिहाल्यो। के थियो नाम कुन्नी मेरी सुन्तली भन्थे, त्यसले नी यसरीनै मलाई हेपेकी हो, तलाई थाहा छ त। लभ एट फस्ट साइट हुन्छ, सन्ध्या मेरोलागि लभ एट फस्ट वर्ड बन्न पुगी, वर्ड के बिस्तारै मेरौ र्वल्डनै भई मोरी ।
सन्ध्याले आफ्नो बाबा र म दुबैलाई होसला, प्रेम, विश्वास दिएर सुधारी। कति धैर्य गर्थी, कति सहन्थी तर कहिल्यै मलाई हेपिन उसले, माया गरिरहि। मान्छे जन्मदै बिग्रेरर आएको हुदैन सुर्य, तिमीले बिग्रिने कारण पायो, अब सुध्रिने कारण खोज भन्थी गम्भीर भएर। हुन त यस्ता ज्ञान मेरो जीवनमा अरुले नी बाँटे, तर सन्ध्याको कुरा मान्न मन लाग्यो, लभ पर्दै थियो नी त, मेरो सुध्रिने कारण उसलाई नै बनाए। मलाई सुध्रिएर उ सित मीठो जीन्दगी बाँच्ने इच्क्षा जाग्दैथियो। म बदलिदै थिए। सफा रहन, हयाण्डसम देखिन मन लाग्न थालेको थियो।
नशा गर्न छाडेको ६ महिनापछि बाबाले मिल किनीदिनुभयो। गाउबाट जौ, धनिया आदि पठाउनुहुन्थ्यो, मसलाको व्यापार राम्रो चल्दै थियो। तर पहिले नै दाग बसेको फोक्सो र मिलको धुलो धुवाले मलाई खराब गर्यो र आजको अवस्थासम्म पुरायो।
एकदिन मैले डिम्पल, त्यहि केटी तैले बिर्सिसहोला, थर्ड बेन्चको झ्यालमा बस्ने, पाइपको बोतलबाट पानी खादा गालामा डिम्पल पर्ने, त्यसलाई भेटेको थिए। आफ्नो डेलिभरी गराउन आएकी रहिछे। अचम्मको ठाँउ छ अस्पताल, कसैको जीवन यहाँ शूरु हुदैहुन्छ, कसैको अन्तिम शासको गन्ती पनि यतै हुदैहुन्छ। डिम्पल नयाँ जीवन शुरु गर्न यहाँ आएकी छ, म आफ्नो अन्त पर्खदै छु यँहा। खैर, के नै भन्न सक्छु र। अनि थाहापाइस, त्यो डिम्पलको बा त डाक्टर होइन रैछ नी, मोरीले आफ्नो कुरामा वजन थप्न ढाँटेकी रैछे। डिप लभ कर्थि नी त त्यसले तेरो दाइलाई, सम्झदा प्राउड फिल गर्छु अहिले त। लोल।
यार अनु यस्ता सिल्ली गफ जति गरे पनि सकदिैन तर जिन्दगी सकिन थालिसक्यो। तलाई भन्नै पर्ने कुरा भनेकै छैन, धेरैको देखेको सुनेको छु मैले, आफ्नो हार, आफ्नो असफलता, आफ्नो गल्तीको दोष अर्काको काँधमा हालेर हल्का हुने। तैले कसरी सोच्दछस मैले बुझेको छु, तैले चुरोट खान सिकाइस तर त मेरो आजको अवस्थाको कारण होइनस बुझिस, तेरै अनुहार सम्झेर मैले कति चोटी हातको नशा काट्न बाट आफूलाई रोकेको छु, तेरै यारी सम्झेर कस्ता कस्ता दिनमा पनि म एक्लै बाँचेको छु, आज म मर्नमा तेरो हात छैन बरु आज सम्म बाँच्नमा तैले मलाई सधै साथ दिएको छस्। त अगाडि नहुदा पनि तलाई सम्झेर बाँचेको छु, जिन्दगीले हाँस्ने मौका नदिएपनि त सित बिताएका पल सम्झेर एक्लै हाँसेको छु त्यसैले यदि तैले मेरो खबर पाइस भने, त्यो सेन्टी इमोसनल पागल जस्तो व्यबहार नगर्नु, हामी टफ व्याइज हो आफ्नो रेपुटेसन जोगाउनु। तैले मेरो चिठी पाइस, पाइनस, कि त म भन्दा पहिले नै लुडकिसकिस की, जे होस, नर्कमा भेटमला बट म चाहान्छुकी केहि चमत्कार भएर त यो कुलतबाट निस्किसकेको होस, प्रगती गरेको होस, तेरो सबै चिज लाइफमा सेट होस। तेरो फोक्सोमा चन्द«माको जस्तो दाग नहोस्।
भन्नु धेरै छ, तर केहि फाइदा छैन, थुप्रै सपना अधुरा रहे यार, जीन्गदी यति प्यारो लाग्छ भन्ने थाह भएको भए समयमै म पनि रुबी मिसले भन्नेगरेको स्लो प्वाइजनलाई हात पनि लगाउ दिन थिए होला, तर त्यो बेला जिन्दगीलाई गहिरिएर सोचिएन, कसैको लागी म बाँच्नु वा मर्नुले यति धेरै फरक पार्छ भन्ने सोचिएन, कसैको लागि मलाई पनि बाँच्ने मन लाग्ने छ भन्ने लागेकै थिएन, मेरो छोरा हुर्केको, बढेको हेर्ने इच्क्षा छ तर मौका छैन। सन्ध्यालाई हँसाउन मन छ, उसलाई रानी बनाएर राख्न मन छ, तर अभागी मोरीले म जस्तोलाई रोजी।
बा मा लाई सरी भन्न मन छ, धेरै चित्त दुखाएको छु वहाँहरुको तर जब अगाडि देख्छु, मन थाम्न सक्दिन, मा रुनुहुन्न मेरो अगाडि तर वहाँका आँखाले भन्छन, यो कोठा बाहिर वहाँ रोइरहनुहुन्छ, बा ले केहि भन्नुहुन्न तर वहाँलाई हेरेरै थाहा हुन्छ, वहाँ ननिदाएको कति रात बितिसक्यो।
यार, मेरो कथा स्कूल स्कूल गएर सुनाइदिनु ता कि फेरी कोहि सूर्य यसरी अस्ताउनु नपरोस्। अनि मेरो छोरोलाई बाबुको माया दिनु,सम्झाइ बुझाइ गरीदिनु, बुझिस त। अनि हिन्दी फिल्ममा जस्तो सन्ध्या सित बिहे नगर्नुनी, भाउजुनै मान्नु, हल्का पोसेसिभ छ के तेरो दाइ सन्धयालाई लिएर। सुर्य अस्तायो भनेर सेन्टी भएर नबस्नु, त टुउउउउउट स्कुलले कपाल काँटिदियो भन्दा त रुने मान्छे, ल तलाई दिए, म्याक्स एक दिन सेन्टी हुनु त्यसपछि जीवनको गाडि अगाडि बढाउनु किनकी तेरो दाइ अस्ताउने खालको मान्छे होइन प्रत्येक दिन तलाई उठाउन पुर्वको भ्यालबाट छिर्छु।
ल त दोस्ती
अब अर्को जुनीमै त होला।
तेरो दाइ सुर्य
