कद सानो सानो नै छ, सानो भन्दा पनि हाम्रो समयको नेपाली केटीको सामान्य उचाईनै होला। त्यो समयमा बनाइएका भान्छा कोठाहरु महिलाको उचाइलाई ध्यानमा राखेर बनेका हुनुपर्ने किनकी भान्छाघर महिलाको कार्य क्षेत्र मानिने समय थियो। तर पनि दराजहरु अग्ला अग्ला छन्। कहिले काहि ठूला बट्टा निकाल्न तन्किनै पर्ने हुन्छ। त्यस्तै एकदिन तन्किएर बेसारको बट्टा निकाल्दै थिए, मेरो अग्लो भाइ वो वो गर्दै आयो, मलाई थाह थियो म त्यो बट्टा बडो काइदाले निकाल्छु, केहि नपोखाई, केहि नबिगारी। त्यो सिप वा कला, अभ्यासले, विश्वासले, मानसिक सबलताले दिएको उपलब्धि थियो होला।
अर्को दिनको कुरा हो, भाइ घर फर्कदै थियो, म आँगनमा ढोका खोल्न गए, मलाई लाग्यो रौ जति ठाउ थियो होला, पर्खालको छेरबाट उसले सुन्दरताका साथ गाडि भित्र हुल्यो, वो वो गर्ने पालो मेरो थियो।
मेरो दिदी पनि त्यसै गरी गाडि छिराउदै गरेको देखेर मैले पनि गाडि सिकेकी थिए, तर किनहो चलाउने आँट कहिल्यै आएन। कसले ठोकायो भन्दा पनि ठुलो गाडि र सानो गाडिको मुद्घा, आफू शान्त मनले चलाउ भने पनि पछाडिको मचमच, यस्ता विविध कुराले स्टेरिङ समाउने आँट आएन।
तर, समय संगै जिम्मेवारी र जिम्मेवारी संगै चुनौतिले बाँकी धेरै कुराको स्टेरिङ समाउनै पर्यो र समाए पनि। लगन, इमान, निश्चय र विश्वासका साथ गरेपछि जे कुरा पनि सफल हुन्छ। डरलाई जित्नुपर्ने रहेछ, आफ्नो नियत सहि राखे आफ्नो काम प्रति जवाफदेयी हुन सहज पर्ने रहेछ। सिक्दै गए, तर पनि गाडि चलाउने रहर आज पनि लागेन।
यहि कुराको चिन्तनले के सिकायो भने, संसारमा सबै भन्दा ठूलो इच्क्षा शक्ति रहेछ, इच्क्षा दृढ राखेर, मनोवल उच्च बनाई ठुला रोग जितेका कथा पनि पढेको छु, पढ्न इच्क्षा नगरेर पढाइ कमजोर तर संगितमा रुची भएका उच्चकोटीका मेरा विद्यार्थी कलाकार पनि देखेको छु, त्यसैले आज लाग्छ, कसैलाई कमजोर भन्नु भन्दा पहिले उसको इच्क्षा के रहेछ बुझ्न जरुरी छ, हरेक त्यो नारी जो भान्छामा जीवन बिताउछिन उनी कमजोर भए घरमा सबैभन्दा पहिला उठ्न र अन्तिममा सुत्न कसरी सक्थिन, उनी कमजोर भए, घरका सबैको जीवन कसरी व्यवस्थित हुन्थ्यो होला र?
